Thursday, October 18, 2012

दशैं सकिन्छ भोली


असत्य माथी सत्य हाबी, भन्ने उखान सुनी मैले
जौ रोपी बालुवामा, जमरा आशा गरे ऐले
घडा भरी जल थापी, घटस्थापना गरी राखें
दुर्गा दाहिना पार्ने आशा, मनका यी आस्था भाके
दूर हुन्छन् मन पिर, दूर हुन्छन् आदि आदि
मिली एक जन सब सारा, हर्ष एक हुन्छन् साथी
एवं रितले शुद्ध मनमा, दशौं दिन रहने भाका
पूजा गरी नित्य दिनको, मान्छु अब शुद्ध सादा
आयो दशैं आयो दशैं, कोलाहल जन सब सारा
दौडधुप बढ्दै गए, भए बजार भीड मारम मारा
बच्चा मनले भन्न थाले, नयाँ चीज गन्न थाले
लेखिएका पातोहरु, एका एक बन्न थाले
लौ मार्यो लौ मार्यो, बन्ने सादा भए हावा
पोली खल्ती पोली मन, डुब्न थाले दु:ख मै सारा
देख्छु पुग्छ हुन्छ कसोरी, जोड घटाऊ मिले जसरी
धाऊ मै भयो धाऊ, खुल्न नसकी चर्के घाऊ
यता जाऊ उता जाऊ, छोपी पन्छी पिँजडा माऊ
छटपटीएं लागे गोली, रन्थनीएं गुहारे साहू
नखरा उन्का, भाका उन्का, साँऊ उन्का, ब्याज उन्का
हुन्छ हुन्छ, मात्र टाउको, हुन्छ हुन्छ, निक्ले बोली
गोली माथी गोली, गोली माथी गोली
दशैं सकिन्छ भोली, दशैं सकिन्छ भोली

Sunday, September 30, 2012

साहसी तिमी


कल्पनाको सागर भित्र पौडीएका आशहरु
कुरी बस्छन् छैन आश फर्किने ती सासहरु
जीवन धान्ने मात्र हैनन् साहसी ती हातहरु
सम्झना मै सीमित भे मीठा तिम्रा बातहरु

उढाएर कतै पारि लाने थिए नामहरु
थिए भरोसामै तिम्रा सकुसल ती नाथहरु
झरी गए उजाड ती भए काला रातहरु
भोर हुनेछैन अब लम्बिए ती साथहरु

जन जनले सम्झने छन् तिमीलाई सधैभरी
लायौ गुन बाँचे जन बचायौ ती कसोगरी
हेर्दा लाग्छ भाग्य थियो दुर्भाग्य भो घरीघरी
पुग्दा पुग्दै खरानी भो रोकिएन कसैगरी

के भो कुन्नी किन भो त्यो भन्छन् यहाँ थरीथरी
जे भो भयो गयौ गयो सबै थाहा तिमीलाई छनी
थाहै होला त्यही कुरा भोली जब हामीलाई पनि
नहुनु त्यो भयो गयो नहोस् अब कहिल्यै पनि

Thursday, September 6, 2012

झण्डा


छोरोले नेपालको झण्डा बनायो
रातो र निलो रंग खनायो
चन्द्र बनायो¸ सुर्य बनायो
छोरोले नेपालको झण्डा बनायो

उसले कोर्दै गर्दा रेखाहरु
मन मेरो ढक्क फूलिगो
रातो र निलै रंग किन खनायो
चन्द्र र सुर्यै किन बनायो
सोच्न नपाउदै मैले केही
उसले वाक्य यस्तो बनायो
मलाई सबै भन्दा प्यारो लाग्छ¸ नेपालको झण्डा

म मन मनै भन्न थाले
केहिलाई लाग्दैन त्यो
सबै फेर्ने निहुँमा¸ कुनै दिन फेरिन्छ त्यो
अवोध बालकले फेरी अर्को झण्डा बनाउनु छ
अर्कै रंग खनाउनु छ
अर्कै चित्र बनाउनु छ

थाहा पाए सबै कुरा उसले मलाई सोध्ने थियो
बाबा झण्डा त हाम्रो राम्रै छ
सबै भन्दा अलग्गै छ
हेर्दा सबैका सामुन्ने चिन्न सबैलाई प्रष्टै छ
केहि गर्न नसके पनि देशले¸ यसैले देश चिनिएको छ
सबैलाई चकित पार्ने हाम्रो झण्डा¸ विशेष छ
बाबा किन फेर्न पर्यो ?
किन अर्कै रेखा कोर्नु पर्यो ?
किन अर्कै रंग भर्नु पर्यो ?
किन अर्कै चित्र बन्नु पर्यो ?

थाहा पाउन्न म मेरो झण्डा कैले देखि यस्तै छ
कस्कसले यसलाई बोके
कहाँ कहाँ यो पुग्यो
सायद बैरी संग लड्दा हाम्रा पुर्खा
यो झण्डा त्यही थियो
विरगती पाउँदा सपुत¸ त्यै झण्डा ओढेको थियो
ति सबैले अब अर्कै झण्डा ओढ्नु छ
फेरि विरगती पाउँनु छ
फेरि त्यो फहराउनु छ

छोरोले मलाई झक्झकायो
सोच्यो बाऊ किन टोहोलायो
एकै छिन हेरी मुहार मेरो
फेरि आफ्नै कापी समायो

हेर्नुहोस् त बुबा मैले बनाएको झण्डा
यसो मैले कापी हेरें
रातो¸ निलो¸ चन्द्र¸ सुर्य¸ तिन चोसे आकार त्यो
बोल्न नसकी हेर्दै थिए
उसैले फेरि मलाई बोलायो
भन्यो राम्रो छ हगी
मलाई साच्चै राम्रो लाग्छ¸ मेरो देश नेपालको झण्डा
………..

मलाई साच्चै राम्रो लाग्छ¸ मेरो देश नेपालको झण्डा

Sunday, August 26, 2012

तिम्रो हाँसो


कसै प्रति फिस्स हाँस्दा¸ प्रति उत्तर हाँसो ।
खिजाएकी हुन्की उनले¸ रमाएकी हाँसो ।।
यो मनले जे नै सोच्छ¸ त्यही लाग्छ हाँसो ।
ऐना भरी छरिएको बिम्ब¸ हो की हाँसो ।।

मन मेरो पंख हाल्छ¸ रमाएकी हाँसो ।
कल्पनाकी सागर डुल्छ¸ प्रति उत्तर हाँसो ।।
जे नै सोच्छु त्यो नै पाउछु¸ देखि तिम्रो हाँसो ।
संसार भुल्छु युद्ध जित्छु¸ हुन्डरी त्यो हाँसो ।।

संगै हुँदा कोही अरु, पाउछु त्यही हाँसो ।
निस्वार्थ नै हो की लाग्छ¸ कहिले तिम्रो हाँसो ।।
कहिले लाग्छ फेरी हैन¸ केही छ त्यो हाँसो ।
पुरुषको हृदय यो¸ झङ्कारीत पार्छ तिम्रो हाँसो ।।
पुरुषको हृदय यो¸ झङ्कारीत पार्छ तिम्रो हाँसो ।।

Friday, August 24, 2012

हुदैन समाधान


हुदैन समाधान कान्छी¸ समस्या संग भागेर ।
कतिन्जेल पुग्छ तिमीलाई¸ अरु संग मागेर ।।
सोह्र बर्षे जोवन तिम्रो¸ जबान बन्ने उमेर भो ।
बच्चै रहन्छु जिवन भर ठान्यौ¸ उमेरले कहाँ ठान्ने हो ।।

उफ्फ! तिम्रा नखरा हेर्दा¸ लाग्छ तिमी धन्य छ्यौ ।
बालक बबुरा धेरै ल्यायौ¸ भन्छेउ तिमी एक छ्यौ ।।
लालाबाला एकै नाशका¸ कहाँ पो त हुन्छन् र ।
सोच्लान तिनले तिम्रै लागि¸ सोच सबको फरक छ ।।

एकदुईले गलत भन्लान¸ गलत त्यहीँ हुन्छ र ?
हजारले सही भन्लान¸ गलत सही हुन्छ र ?
छोडी जालान सन्तान तिम्रा¸ माया कहाँ छुट्छ र ।
दु:ख पर्दा कुनै दिन¸ मन त तिनको दुख्छ त ।।

सबै कुरा बुझने तिमी¸ देखिन्छ सबै पचाकी छौ ।
लाज लाग्छ देख्दा तिमीलाई¸ लाज कता बचाकी छौ ?
आगन एउटै साझा हैन¸ साझा तिमीले बनाकी छ्यौ ?
सबै प्रष्ट पार्छु भन्थेऊ¸ के प्रष्ट तिमीले पारेकी छ्यौ ?