Friday, January 30, 2015

राष्ट्रिय गान (जुन हुन सकेन)

हिमाल पहाड अटाउदै¸अटाएको छ मदेश
हरेक भाषी संस्कृतिको मिश्रण मेरो देश
पवित्र छ विरहरुको विशाल यो शान्त देश
शहीदको रगतले सिंचिएको प्यारो देश
सगरमाथा शिरमा उभिएको सुन्दर देश
नेपालीको धुकधुकी र जननी हो मेरो देश
मेरो देश मेरो देश मेरो देश नेपाल


-         –  दर्ता नं – ११६/०६३
दर्ता शाखा
प्रज्ञा प्रतिष्ठान
काठमाण्डौं
(तत्कालिन समयमा लेखिएको र राष्ट्रिय गानको लागि दर्ता गराएको यो गान आज भेटियो र यता लेखियो)

२०७१/१०/१६ शहीद दिवस

Friday, December 20, 2013

मोन्सान्टो इन नेपाल


अरव पति नभए पनि¸
श्रीमतीको पति भाको छु
खेती गर्न नसके पनि¸
मोन्सान्टोको विऊ किनी ल्याको छु

सुन्दै छु………..

भेन्टा हुन्छ लौका जत्रो¸
लौका होला कत्रो
फर्सीको ता कुरै छाडौ¸
गोलभेडै फर्सी जत्रो
एउटा पाके परिवार पाल्छ¸
दुईटा पाके गाऊँ
तिन्टाको त कुरै छाडौ¸
देशै खाने दाऊ
ना ना थरी मिसाएका¸
हेर्दै हुन्छ रे राम्रो
खाँदा स्वाद फिट्ट छैन¸
दाम जाने भो हाम्रो

अब के गर्ने त…..

कि किसानलाई विऊ देऊ¸
रैथाने लोकल हाम्रो
स्वादिलो भै फल्ने धेरै¸
सबैभन्दा राम्रो
हैन रोप्न देऊ तिनै¸
जुन फल्छ धेरै
जान्छ नित रैथाने त्यो¸
लोकल अब खेरै
कसकसलाई रोक्छौ तिमी¸
कसलाई भन्छौ नाई
कसकसलाई देखाउछौ भन¸
तिमीले देख्या खाई

कसकसलाई देखाउछौ भन¸
तिमीले देख्या खाई

Sunday, July 21, 2013

दोषी चश्मा


पक्कै पनि¸
मैले बोकेको चश्माले तिमीलाई इमान्दार देख्छ
किनकी तिमी मेरा खेमाका पर्यौ
अरुले बोकेकाले बेईमान देखेर के भो त
तिनका चश्मै दोषी छन्

हो तिम्रा हरेक कर्म अतुल्निय छ
जस्तै¸
अस्तिन सालीकी घरकी भाडाकी दिदी विमारी पर्दा
राज्यकोष खर्चेर बैकक पुर्याएका थियौ
स्वास्थ्य लाभ त हवाईजहाजमै भएको होनी
तर घुमाएर सपिङ गराएको थियौ
त्यस्ता दयालु तिमीलाई पनि
चश्माले किन दोषी देख्छ ?

आज फेरि अस्तिनका शत्रु पक्ष विमारी पर्दा
अनि तिनलाई खर्च नदिदा
किन तिनका चश्माले
तिमीलाई नै दोषी देख्छ

के फरक पर्छ
ति शत्रु निष्ठावान थिए
या स्वाभिमानी
या तिनी राष्ट्र भक्त
अझ भनौ इमान्दार
जे भए नि तिनी शत्रु थिए
र तिम्रा चश्माले तिनलाई दोषी देख्छ
र तिम्रा चश्माले तिनलाई दोषी देख्छ

Sunday, July 14, 2013

बुझ्न सक्दिन म


सबैलाई थाहा छ¸
भानुभक्त जन्मे १८७१ मा
१९०० को हाराहारी भेटे होलान घाँसी त्यो गाँऊमा
प्रेरणा नि पाए होलान् नाम राख्नु पर्छ¸
तर बुझ्न सक्दिन म
के घाँस बेचेरै पैसा जम्मा हुन्थ्यो त्यो बखतमा ?
-------------------------
हामी पढि रहेछौ¸
गुरुहरु पढाई रहनु भएको छ¸ लगातार
तर बुझ्न सक्दिन म
त्यो बेलाको अर्थतन्त्र¸ अर्थ व्यवस्ता
के घाँसै बेचेर पैसा जम्मा हुन्थ्यो त¸ त्यस बखतमा ?
----------------------------
ईतिहास साँक्षी छ¸
के साँक्षी नै छ त त्यो पनि ?
घाँसीकुवा अझै छ¸
घाँसै बेचेर खनिएको थियो त त्यो पनि ?
बुझ्न सक्दिन म
गिदी खल्बलिएको छ मेरो¸
मगज खुस्किएको छ
-------------------------------
ईतिहास हो त्यो
या कुनै कथाकारको कथा¸
के घाँसै बेचिन्थ्यो त¸ त्यस बखतमा ?
---------------------------------
तर जे होस् उन्ले प्रेरणा पाएँ
रामायण नेपालीमा उल्था गरी नेपालीलाई गुन लाएँ
तर बुझ्न सक्दिन म¸
उनले प्रेरणा कसरी पाए
के घाँस बेचेरै पैसा कमाउने¸ ति घाँसीबाटै प्रेरणा पाए ?
के घाँस बेचेरै पैसा कमाउने¸ ति घाँसीबाटै प्रेरणा पाए ?
_________________________________________________
* (सायद त्यो समयमा घोडा चढेर आउने मानिसहरुले घाँस किन्थे कि आजकाल हामीले मोटरसाईकलमा पेट्रोल हाले जस्तो) 

Thursday, April 4, 2013

मेरो कविताको शिर्षक छ : शिर्षक आफै राख्नुहोस्


एकतमासले ढोका ढकढकायो
रामप्यारीले ढोका खोली
रामप्रसाद भित्र आयो
मुसुक्क मुस्कुरायो
खिच्च दाँत देखायो
सधै धोबी चुटान दिने लोग्ने
आज बदलिएको छ
आज रामप्रसादले मनबुझु यन्त्र भेटेको छ

जाँच यहिबाट गरौं कि¸  काम गर्छ पनि त
भात खाने होकी हैन जडियाँ टन्न धोकेको छ

अनयास यन्त्र करायो
लौ मार्यो यसले त ठ्याक्कै मिलायो
रामप्यारीले पैचे मुस्कानमा सोधी
भात पस्कु हजुरलाई अलिकता खाई बक्सियोस् न
मनमा दाह्रा किट्दै रामु हँसिलो स्वरमा भन्छ
खान्न बाहिरै……

किन खान्थियो त जडियाँ
बाहिरै टन्न धोक पछी
डुँङ्डुँङ्ती गन्हाउने बजिँया
मुख त जोर्न ल्याउलानी फेरी
कति बेला ल्याउनी हो

अब
रामप्यारी सुती¸ किन सुत्थी फेरी
कल्पनामा उ डुवेकी छ
रामु उठ्यो शौचालय गयो
फर्के र आउदा यन्त्र कराउने नै भो
पल्लो कोठाको काले निदाएको छैन
उ कुन्नी कुन नायिकाको यादमा छ
उ नित्य कर्ममा छ
सुन्तली आफ्नै दुनियाँमा छे
सुन्तली क्याँत¸ कालेको स्वास्नी

रामप्रसाद डार्लिङ रामु
जाँड खान्छ¸ त के भो ह्याण्सम छ
मेरो सपनाको राजा
जाँड अलिकता त खानु त पर्छ
लोग्ने मान्छे भए पछि
मेरा जस्तो हो र डार्लिङ डार्लिङ मात्र भन्ने
जोईटिङ्ग्रे कुनै काम फत्य नगर्ने¸ गर्नै नसक्ने

राम प्रसादलाई आन्नद आयो
उस्ले झन ढोकाको प्वाल बाटै च्याँयो
एक तमासले श्रीमतीलाई माया गर्ने रामे
आज उसको माया बाँडिएको छ

अब काले धुर्न थाल्यो
सुन्तली छटपटाई उसले रामुलाई चुम्न थाली
अनगिन्ती कल्पना पछी¸ उ पनि अब निदाई

रामप्रसाद आफ्नो कोठामा आयो
यसो रामप्यारीलाई च्याँयो
उ मस्त निन्द्राको अभिनयमा छे¸
भन्ने उसले पछि थाहा पायो
किनकी यन्त्र फेरी करायो

लोग्ने त त्यस्तो हुनुपर्छ
डार्लिङ कालु जस्तो¸ कालु क्या त सुन्तलीको लोग्ने
कतै आँखा नलगाउने सोझो¸ शान्त¸ आदर्निय त्यो
उ कालुलाई चुम्न थाली एक तमासले सबै तिर
सुन्तुष्टीको सास फेरी
उ निदाई अब

रामप्रसादलाई छटपटी भो¸ खै किन हो¸
आज उसले सुन्तलीलाई उठाएन फेरी
सधै त त्यस्तो हुदैनथ्यो
आउथ्यो¸ उठाउथ्यो¸ जस्तै निन्द्रा परे पनि
तब उ निदाउथ्यो¸ घुर्थ्यो¸ सारा संसार जिते सरी

भोली पल्ट जब उ उठ्यो
दाँत मोल्यो¸ मुख धोयो
विहानी नित्य कर्म सकी
चिया पिउन पसल तिर गयो
वाटामा अनगिन्ती कुरा आउने नै भो
सुन्न सकिने बुझ्न सकिने कुरै भएन
यन्त्रको कान निमोठ्यो¸ यन्त्र बन्द भो
जब उ पसलमा पुग्यो
सम्झ्यो यन्त्र त खोल्नै पर्यो
साहुनी तिर फर्क्यो
साउनी हाँसी उ हास्यो¸ यन्त्र फेरी करायो

आयो फेरी जडिँया¸ नामुद टोलको
पाजी नकचरो¸ हेर्दै ढाडे विरालो जस्तो
चिया किन खानु यस्ताले
विहानै देखि धोक्नु नि फेरी
पैसो कहिल्यै तिर्ने हैन
खाता चढेको चढेकै छ सगरमाथा जस्तो
स्वास्नीले ठोक्न नसक्ने¸ मर्न नसक्ने
मेरा भए चुट्थे बेसरी

रामु डरायो¸
उसले त सधै पैसा तिर्ने गर्थ्यो
न त उसको कुनै खाता नै थियो
के भन्छे साहुनी यो
कतै बहुलाई फेरी पो
अस्ति नै¸ लगनखेल गाकी थी
दुईचार दिन उतै बिताकी थी
के यस्तालाई हेर्नु

उ टोले भए तिर फर्क्यो
सुन्दरे¸ मुन्द्रे¸ श्यामे¸ हुदै
कुनामा बसेको हाकु काले थ्यो

सबैको आफ्ना आफ्नै ताल
बुझ्दा बुझ्दै भो बेहाल
कोहि चिया साउनीलाई ताक्ने
कोहि कामदेव नै डाक्ने
नेतृ देखि नोकर्नी सम्म

सुन्न नसकी तिनका कुरा
छोडी खाको चिया पुरा
उ निस्क्यो फुत्त बाहिर
बरु जान्छु मित्र कहाँ सुन्न सायरी

उ सरासरी कैले काँ छिर्यो
ढोका मै मित्र कैले मिल्यो
कैलेले उसलाई अभिवादन गर्यो
भित्र लगी¸ मुढा दियो
आदर पुर्वक……….

यन्त्र फेरी कराउने नै भो
फोकटमा आउछ मात्र यो
खान्छ चिया¸ कप भरी त्यो
सुन्या जस्तो त गर्छ
सायरी सुन्न आउछ कि
आउछ ताक्न मेरी पियारी पो
बरु ल्याउनु नि श्रीमती यसकी
च्वाँक छे मोरी हाँस्छे बेसरी
धुर्मुसेले भन्या जस्तो भन्न मन लाग्छ
कस्तरी हाँसेकी¸ "मर्छु कि क्या हो"

असल मित्र मनको ठानी
आफ्नै जस्तो मैले मानी
तर यन्त्रले त सबै बृती बतायो
रामप्रसादले यती सोच्न भ्यायो

मोरो कैले¸ मै जस्तो रैछ
कता मरिछे आज¸ यसकी पियारी
आउँछु सुन्न तेरो सायरी

रामप्रसादलाई औडाहा भो
कहिले ठ्याक्क¸ मिलाको जस्तो
कहिले छेउन¸ पुच्छरको

अब उसलाई शंखा भो
कतै काम त ठिक छ¸ यसको
साहुनीको कुराले¸ झस्किएको उ
के ठेगान अरु कुरा चाहीँ सत्यै हो

गौसालाको भट्टी बाहिर भेटेको त्यो
कसले बनायो¸ कसरी आयो
उ रनभुल्लमै पर्यो
साच्ची कति प्रतिशत सत्य मिलाउछ पो
यस्तै सोच्दै बाटामा हिनेको उ
पुलुक्क यन्त्रलाई हेर्यो
त्यहाँ त मेड ईन खास्सा लेखेको थ्यो

अब उसले निष्कर्स निकाल्यो
धत् कसैले यस्तो यन्त्र बनाउन सक्छ
जो सय प्रतिशतै
कुरा बताउने मनको त्यो
न त्यस्तो कसैले बनाउला
न नै त्यो कहिल्यै बन्ला

मन त सोच्छ पानी हो
नुन मिसाए नुनिलो
चिनी मिसाए गुलियो
 २०६९/१२/१८
(२०६९/१२/१९ गते April 1st का दिन मैले @cafekavita मा वाचन गरिएको कविता हो)